एसियाड तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली भारत जाँदै

एसियाड तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली भारत जाँदै

1185

काठमाडौँ, १० साउन । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।

पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३।५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् । महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगिता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन भने प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन ।

खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोट्र्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ । उक्त विशेष प्रशिक्षणको मुख्य आकर्षक भारतका लागि क्युवाका कोच फर्नान्डेज र अन्य भारतीय कोचहरुसंग मिलेर दुवै देशका खेलाडीहरुसंग प्रशिक्षण अगाडि बढाउने कार्यक्रम रहेको छ । यस अघि पनि तीन हप्ताको प्रशिक्षण उक्त स्थानमा नेपाली महिला टोलीले पाएको थिए । जसको फलस्वरुप आईवा उमन वल्र्ड बक्सिङ्ग च्याम्पियनशिपमा नेपाली महिला खेलाडीहरुले क्वार्टर फाईनलसम्मको ऐतिहासिक यात्रा तय गर्न सफल रहेका थिए । सन् १९८६ को दशौ एशियन खेलमा नेपालका दलबहादुर रानामगर, मनोज बहादुर श्रेष्ठ, शुसिल पोखरेल र तुल बहादुर थापाले काश्य पदक जितेका थिए भने सन १९९० को ११ औ एशियाडमा नेपालका चित्रबहादुर गुरुङ्गले काश्य जितेका थिए भने सन २०१० को १६औ एशियनमा नेपालले एक मात्र काश्य पदक दिपक महर्जनले जितेको कुरा नेपाल बक्सिङ्ग संघका महासचिव मान बहादुर भण्डारीले जानकारी गराए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहो¥याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए । खेलाडीहरुको मेहनेतका साथ साथै सम्पुर्ण कोचहरुले पनि आफ्नो दायित्वलाई ईमान्दारीका साथ निर्वाह गर्न निर्देशन दिएका थिए । नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवालेले गौरवमय ईतिहास बोकेको बक्सिङ्गले एक पछि एक सफलता हासिल गर्दै अगाडी बढिरहेकोले यस खेललाई विशेष माया र सहयोग गर्नुहुने राखेपका सदस्य सचिव, सम्पुर्ण खेलप्रेमी महानुभाव तथा पत्रकारहरुलाई धन्यबाद दिदै खेलाडीहरुलाई अनुशासित र जिम्मेवारीबोधका साथ खेल खेल्न निर्देशन दिए ।

तपाईको बिचार