काठमाडौँ, २८ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ ।
देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागका अनुसार मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
तपाईको बिचार