काठमाडौँमा विपन्न नागरिकलाई आजदेखि नि:शुल्क शय्या

काठमाडौँमा विपन्न नागरिकलाई आजदेखि नि:शुल्क शय्या

227
Empty beds in a hospital ward

काठमाडौँ, १४ असार । काठमाडौँका चार सरकारी अस्पतालमा विपन्न नागरिकले आजदेखि नि:शुल्क शय्याको सुविधा पाउने छन् ।

गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा विपन्नले शय्याका लागि पैसा तिनु पर्दैन ।

कान्तिबाल अस्पतालको ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको चार सय ५०, ट्रमा सेन्टरको एक सय ५० र शहीद गङ्गालाल हृदयरोग केन्द्रको ९० वटा शय्या निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसहित अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ । यसअघि काठमाडौँको वीर अस्पतालले ७ सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

बिस्तारै देशभरीका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने स्वास्थ्यमन्त्री मोहन बस्नेतले बताउनु भएको छ । शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतको भनाइ छ । निजी अस्पतालमा पनि कुल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था छ । यो  नियम कार्यान्वयन गर्न कडाइ गरिने स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

तपाईको बिचार