मन्त्री आचार्यद्वारा हिंसाको न्युनिकरणका लागि महिला सशक्तिकरणमा जोड

मन्त्री आचार्यद्वारा हिंसाको न्युनिकरणका लागि महिला सशक्तिकरणमा जोड

251

काठमाडौँ, १० असार । महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसाको न्युनिकरणका लागि महिलाको सशक्तिकरणमा जोड दिनुभएको छ ।

साथी संस्थाले राजधानीमा आयोजना गरेको महिला आश्रयगृहको तीनदिने राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै उहाँले समाजमा विद्यमान हानिकारक प्रथा र गलत अभ्यासका कारण महिलाले हिंसा भोगिरहेकोले यसको अन्त्यका लागि सामुहिक पहल आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा हिंसा प्रभावितले आफ्नो पीडा सुनाउँदा निक्कै भावुक बनाएको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले हिंसा पीडित महिलामा मानसिक, आर्थिक, सामाजिकलगायतका विविध समस्या एकैपटक देखिने भएकोले लैङ्गिक हिंसाले समग्रमा महिलाले सम्पूर्ण आशा मारेको बेला आश्रय दिने आश्रयस्थलको निक्कै ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले अझै पनि महिलाको क्षमतालाई कम मान्ने प्रचलन, हिंसा गर्न हुन्न र भएमा सहनुहुन्न् भन्ने चेतनाको अभावले महिला र किशोरीमाथि हिंसा भइरहेको बताउनुभयो ।

साथी संस्थाका संस्थापक बन्दना राणाले करिब तीन दशक अगाडि साथी संस्थाको स्थापना गर्दा नेपालमा घरभित्र महिला, बालबालिकामाथि हुने हिंसालाई सामान्य मान्ने, घटना भइहाले पनि थोरै महिलाले मात्र बाहिर सार्वजनिक गर्ने र आश्रयस्थलसम्म पुगेर आफ्नो पिडा भुलाउँदै अगाडि बढ्ने सोच राख्थे भन्दै अनुभव सुनाउनुभयो ।

राणाले भन्नुभयो “हाल देशभर हिंसाबाट प्रभावित महिला, किशोरीलाई राख्ने आश्रयस्थल सरकारी तथा गैरसरकारी गरी करिब ५० भन्दा बढि आश्रयस्थल बनेका छन्, तर आश्रयस्थल सञ्चालनका लागि गर्ने निश्चित मापदण्ड, नीति बनेका छैनन्, यस सम्मेलनबाट आश्रयस्थल सञ्चालनका लागि साझा नीति, धारणा बनाउने अपेक्षा लिएका छौं ।”

प्रतिनिधी सभा सदस्य डा. आरजु राणाले गरिबी, घरेलु समस्या र पुरानो सोचका कारण हिंसामा परिरहेका महिलाका लागि नयाँ जीवन, सोच र सशक्तिकरणको बाटो देखाउन आश्रयगृहको स्थापना गर्नुपरेको बताउनुभयो ।  उहाँले महिला हिंसाबारे पाठ्यक्रमा समावेस गरेर महिला आश्रयगृह नै नचाहिने समाज निर्माण गर्न सृष्टिकर्ता, घर,समाज बनाउने, सभ्यता नै निमार्ण गर्ने महिलाको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मानव बेचविखनको घटनाबाट प्रभावित र लैङ्गिक हिंसाबाट प्रभावित महिलाले आफ्नो पीडा बताउनुभयो ।

शक्ति समूहमा आश्रय लिइरहेका किशोरीहरूले सामाजिक सञ्जालबाट मायाप्रेमको रूपमा हुने ठगीको घटनालाई सङ्गीत र अभिनयको माध्यमबाट सचेतनाका लागि प्रस्तुत गर्नुभएको थियो । महिला आश्रयगृहरूको पहिलो राष्ट्रिय सम्मेलनबाट सहभागीहरूले त्यस्ता आश्रयस्थलका लागि साझा मापदण्ड र नीति बनाउन विभिन्न समुहमा छलफल गरी निष्कर्ष निकाल्ने अपेक्षा व्यक्त गरेका छन् ।

तपाईको बिचार