‘प्रधानमन्त्री र राष्ट्रपति मिले, राष्ट्रियता निले’: नेता बस्नेत

‘प्रधानमन्त्री र राष्ट्रपति मिले, राष्ट्रियता निले’: नेता बस्नेत

234

काठमाडौँ, ९ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्नुभएको गठबन्धनको सरकार कुहिएको फर्सी जस्तै भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको युथफोर्स विभागले आज काठमाडौँमा आयोजना गरेको नवयुवाहरुलाई स्वागत कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्ड नेतृत्वको सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि मात्र काम गरेको भन्दै आक्रोस जनाउनुभयो । साना दलको बार्गेनिङले गर्दा सरकारले जनता र राष्ट्रको हितमा काम गर्न नसकेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, अनियमितता, कुसाशन, अपराधीको संरक्षण, राष्ट्रहित विपरित नागरिकता विधेयक पारितलगायतका असंख्य जनघाती कार्यहरु गरेको भन्दै सरकारलाई कुहिएको फसीसँग तुलना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्ड विदेश जान्छन्, टीकापुर घटनाका दोषीलाई मुद्धा फिर्ता लिन्छन् । रेशममात्र हैन, उपप्राध्यापक प्रेम चलाउनेलाई सांघातीक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्धा फिर्ता लिन्छन् । प्रचण्डले हिजो जनयुद्धमा अपराधी हुन सिकाए । अहिले अपराधीको संरक्षण गरिरहेका छन् । माओवादी लगायतका साना दलहरुको वार्गेनिङ अन्त्य गर्दै प्रचण्डको सरकार कुहिएको फर्सी जस्तो गठबन्धनको सरकारलाई हटाउँदै नयाँ सरकार बनाउनुपर्नेछ । कांग्रेस र एमालेको नेतृत्वमा सरकार बनाउने अभियान चलाउने छ । आर्थिक समृद्धि हासिल गर्नेछ ।’

प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रियतालाई बेचेर मुर्रा भौसी ल्याएको भन्दै उहाँले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीत गरेर प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियतालाई तिलाञ्जली दिएको आरोप लगाउनुभयो । ‘राष्ट्रिय हितको लागि काम गर्दैनन्, अनि मुर्रा भौसी लिएर आउँछन् ।’, उहाँले भन्नुभयो, ‘प्रचण्ड र रामचन्द्र मिले, राष्ट्रियता निले । मृत नागरिकता विधेयक पारिता गरेर विदेशीलाई बुझाए । राष्ट्रियतालाई निलेर विदेशीलाई नागरिकता दिने विधेयक पास गर्छन । त्यसैले मुलुकलाई जोगाउन अब एमालेले वर्तमान सरकारको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्ष हो ।’

विगतमा केही अराजक बौद्धिक वर्गले संघका नेता तथा कार्यकर्तालाई गुण्डाको आरोप लगाएकोप्रति आक्रोस जनाउँदै उहाँले अपराध गर्नेलाई नियन्त्रण गर्न युथ फोर्सले विशेष भूमिका निर्वाह गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादीको कथित जनयुद्धको नाममा खेलाडी, शिक्षक, एमाले/कांग्रेसका नेताको जिउँदै आगो लगाए, नदीमा जिउँदै बगाई दिए, गुडिरहेको गाडीमा बम पड्काएर हत्या गरियो । त्यसको विरुद्धमा हामीले माओवादी र वाइसिएलको ज्यादती समाप्त पारी दियौं । केही बौद्धिक अराजकहरुले संघलाई गुण्डाहरुको संज्ञा दिए । तर सघंले गुण्डागर्दीलाई कहिले पनि संरक्षण गर्दैन । संघले गुण्डाहरुलाई टुप्पी ठाडो पारेर फाँटै फाँट कुदाउँछ । गुण्डागर्दीको नाममा जनतामा आतंक फैलाउने माओवादीलाई तत्कालिन समयमा तह लगायौं ।’

राजनीतिले युवालाई चासो दिइरहने उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाहरुको मुख्य समस्यालाई राज्यले समाधान गर्न नसक्दा युवाहरु विदेश पलायन, ग्रामिण क्षेत्रबाट शहर आउने कार्यलाई नयाँ भिजन र दृष्टिकोणका साथ संघले रोक्नुपर्नेमा जोड दिनुभयो । युवाहरुमा निराशा छाएमा विद्रोहमा परिणत हुने जसले गर्दा विकृति र विसंगति पैदा हुने उल्लेख गर्दै उहाँले एमालेले ‘होनोहार’ युवालाई ‘कठित’ युवामा परिणत हुन नदिने उद्घोष गर्नुभयो । युवाहरु पुरानो प्रविधिको उद्योगलाई नयाँ तरिकाले रोजगारी तथा आर्थिवृद्धि हुने प्रकारका कार्यहरु गर्नुपर्नेमा उहाँले जोड थियो ।

तपाईको बिचार