काठमाडौँ, असार ८ गते । नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्वन्धी उपायको मस्यौदाबारे छलफलको आयोजना गरिएको छ ।
बालबालिका शान्ति क्षेत्र अभियानद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बालअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थामा आवद्ध बालअधिकार कर्मीबीच नेपालले हस्ताक्षर गरेको बालअधिकार सम्वन्धी महासन्धि कार्यन्वयनको सुचकबारे तयार गरिएको मस्यौदाबारेमा छलफल गरेको हो ।
कार्यक्रममा काठमाडौँ स्कुल अफ ल क्याम्पसका सह–प्राध्यापक कपिल शर्माले ‘नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्वन्धी उपायको मस्यौदा’शीर्षकमा कार्यत्रपत्र प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सहभागी बालअधिकारकर्मी, अभियन्ताहरूले आ–आफ्नो धारणा व्यक्त गर्दै सक्रिय सहभागिता जनाउनुभएको थियो ।
बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष राजेश शर्माले समग्रमा बालबालिकाको हितका लागि काम गरिरहेका अभियन्ताहरूको साझा लक्ष्य ने बालमैत्री वातावरण तयार गर्नु हो, यसका लागि अभियानले नेतृत्व लिएर सबैलाई एकतावद्ध बनाउने प्रयासमा साथ दिनुहुने सबैप्रति हार्दिक अभार व्यक्त गर्नुभयो ।
बालबालिका शान्ति क्षेत्र अभियानका सचिवालय प्रमुख आत्मराम थापाले बालअधिकार सम्वन्धि महासन्धिमा अनुमोदन गरेपछि त्यसको कार्यान्वयनको सम्वन्धमा आवश्यक विभिन्न सुचकमध्ये कानुनी प्रावधान, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, तथ्याङ्क, बालमैत्री वातावरणलगायतका बुँदाबारे तयार गरिएको मस्यौदामाथि छलफल भएको बताउनुभयो ।
उहाँले महासन्धि अनुमोदन गरेपछि त्यसको कार्यान्वयनको अवस्थाको सम्वन्धमा संयुक्त राष्ट्रसङ्घको समितिमा पठाउनुपर्ने रिपोर्टका लागि मस्यौदाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । अभियानका महासचिव मिना शर्माले बालअधिकार कार्यान्वयनको सम्वन्धमा प्राप्त तथ्याङ्क, उपलब्धी र पहुँच वृद्धिका नमुनालाई पनि आधार मान्न सकिने धारणा व्यक्त गर्नुभयो ।
तपाईको बिचार