काठमाडौँ, ३० जेठ । नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् ।
सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्काे निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ ।
आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । थप पाँचसहित नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ । आरोहणका लागि खुल्ला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । गएको वसन्तयाममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ ।
नेपालमा एक हजार ३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्याङ्क छ ।
तपाईको बिचार