पुँजीगत खर्च प्रभावकारी बनाउन कार्यतालिका बनाएका छौँ : अर्थमन्त्री

पुँजीगत खर्च प्रभावकारी बनाउन कार्यतालिका बनाएका छौँ : अर्थमन्त्री

697

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको ‘मोडालिटी’ बनाइएको बताए ।  महतले अर्थमन्त्री ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन्  ।  उनले भने, “साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।”

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले ‘माइनस’ रहेको उनले जानकारी दिए । महतले अप्ठारोबीच काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “बजेटको आकार ठूलो भयो भन्ने अर्काेतर्फ खै बजेट भन्ने कुरा पनि आएको छ । अर्थमन्त्रीले त्यही अप्ठारोमा काम गर्नुपर्छ,” ।

उनले बजेट निर्माण गर्दा सीमित स्रोत–साधनबीच काम गर्नुपरेको स्पष्ट पारे । महतले कागती निचोरेर कर लिने नीति आफूले नलिएको बताएका छन् । उनले अर्थतन्त्र विस्तार गरेर कर बढाउने नीति बजेटले लिएको बताए । “माननीयज्यूहरुले भनेअनुसारको राजस्व उठाउन कठिन छ, उठाउन असम्भव भन्ने होइन,” महतले भने, “हामीले पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएका छौँ, त्यो कार्ययोजना अगाडि बढेमा राजस्व उठाउन कठिन छैन ।”

 महतले आफ्ना दाइ डा. रामशरण महतलाई सम्झँदै मूल्य अभिवृद्धि कर (भ्याट)मा दायरा बढाउने काम गरेको बताएका छन् । रामशरणको पालामा भ्याट लागु गरिएको थियो । डा. महतले आफ्नो दाइका पालामा वैज्ञानिक कर प्रणाली भ्याट दक्षिण एसियामा पहिलोपटक लागु गरिएको उल्लेख गरे । त्यो बेला उद्योगी–व्यवसायीको जुलुस निस्कने गरेको उनले स्मरण समेत गरे ।

“भ्याटले नेपालले आफ्नो स्रोतबाट विकास निर्माणको काम गर्न सक्छ भन्ने देखिएको थियो,” उनले भने, “विस्तारै भ्याट नलाग्ने सूची बढ्दै गएको कारण यो कमजोर भएको थियो । योपटक यसको दायरा बढेको छ ।” उनले आलु, प्याजजस्ता दैनिक उपभोगका आयात हुने वस्तुमा भ्याट लगाएको विषयमा नेपालमा यसको उत्पादन बढाउन लगाइएको बताए ।

तपाईको बिचार