नेपालगञ्ज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान ११ दलीय गठबन्धका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्याँखे दाउ थापेर लाभ प्राप्त गरिरहेको बताउनुभयो । अजिङ्गरको रुपमा प्रधानन्त्री प्रचण्डले मुलुकको नेतृत्व गरिरहेको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारले गरेको राम्रा तथा वास्तविक कामहरु जनताका बिचमा पुर्याउनलाई एमालेका सवै जनवर्गीय संगठनहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुष्पकमल दाहाल प्रचण्डले अहिले अजिङ्गरको रुपमा मुलुक हल्लाइरहेका छन् । च्याँखे दाउ थापेर लाभ प्राप्त गरिरहेका छन् । नेकपा एमाले जस्तो प्र्रगतिशिल, जनवादी पार्टी चाँही प्रतिकृया दिएर बस्नुपर्ने अवस्था बनेको छ । सोही कारण जनताका बिचमा वास्तविकता कुरा पुर्याउनलाई एमालेका सवै जनवर्गिय संगठनहरुको महाधिवेशन गर्नुपर्छ भनेर हामी आयौं । त्यही सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल बाँके आइपुगेको छ । यहि कुरालाई ध्यान दिएर एमालेले मिसन ग्रास रुट अभियान ल्याए । कतिपय साथीहरुले भनेको मैले सुने, मिसन ग्रास रुटपनि सँगै महाधिवेशन पनि सँगै गर्न गाह्रो हुन्छ । तर त्यसो नभई यो त झन सजिलो भयो भन्ने मलाई लाग्छ । पशुपतिको जात्रा, सिद्राको व्यापार जस्तै भयो । मिसन ग्रास रुटमा प्रत्येक सदस्यताको घर घरमा तपाई पुग्दै हुनुहुन्छ, त्यस सँगसँगै संघको महाधिवेशनको प्रचारप्रसार पनि गर्नुपर्छ । जसले गर्दा दुवै अभियान सफल हुन्छ । देशभरबाट बाँके एमाले आउँदैछ, केपी ओली आउँदै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ ।’
युवा संघका नेता तथा कार्यकर्ता उत्पादन र रोजगारसँग जोडिनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचनमा आफ्नै सदस्यले समेत अर्कोमा भोट हाल्दा हामी बेखवर रहेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रै घरबाट पार्टीलाई सुधार गर्नुपर्छ, सदस्यतालाई समेटेर लैजानुपर्छ । पार्टी प्रवेश गर्दा संघका कमिटीमा अवद्ध गरी अगाडी बढ्नुपर्नेछ । संघलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउनुपर्छ । घर तथा समाज रुपान्तरण गर्न युवा पुस्ताको हातमा गइरहेको छ, युवालाई समेट्न नसके समाज तथा युवाबाट टाढा हुन्छौं । त्यसैले संघले १६–४० वर्षसम्मका सम्पूर्ण युवाहरुलाई समेटेर अगाडी बढ्नुपर्छ । भ्रमबाट मुक्त बनाउन व्यवस्थीत संगठन, प्रशिक्षण, क्षमता अभिवृद्धि, पार्टीको कार्यनीति, युवा सहभागिता लगायतका कार्यहरु, नयाँ पुस्तालाई आकर्षण गर्नको लागि रचनात्मक कार्यहरु आवश्यकता छ । मैदान कब्जा गर्नुपर्छ । मैदान खाली गर्नुहुँदैन ।
तपाईको बिचार