काठमाडौं–आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्र्तगत उम्मेद्वारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेद्वार रामहरि अधिकारीले विद्रोहमार्फत राजनीतिक शुद्धिकरणमा सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त चुनावी प्रतिबद्धता– पत्र एवं अपिल सार्वजनिक गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका हुन ।
‘मैलै परम्परागत राजनीति र व्यक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको छु, तपाईंले विकल्प रोजेर विद्रोह गर्ने बेला भएको छ । मंसिर ४ तपाईंको विवेक र मेरो विद्रोहको संयोजन गर्ने दिन हो । त्यहीँबाट सुरु हुनेछ– नयाँ दिन र पारदर्शी एवं जनताप्रति उत्तरदायी राजनीति’, पाठकको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
व्यावसायिक जगत्का कृषि, सहकारी, पत्रकारिता, कलाकारिता, शिक्षा तथा स्वास्थ्यका साथै पर्यटन क्षेत्रको लामो अनुभव कर्मशीलतासँगै आफ्नो अध्ययन र अनुभवलाई राजनीतिक क्षेत्रको माध्यमबाट नागरिक सेवामा समर्पित रहने प्रतिबद्धताका साथ उम्मेदवारी दिइएको उनीहरुले दावी गरेका छन् । लामो समय समाजसेवामा सक्रिय रहेको र अव राजनीतिमार्फत जनसेवामा लाग्न चाहेको पाठक र अधिकारीको भनाई छ ।