लैङ्गिकताको सामाजिक निर्माण

लैङ्गिकताको सामाजिक निर्माण

1019

लैङ्गिकताको परिचय

लैङ्गिकताले समाजमा पुरुष वा महिलाको भूमिकालाई परिभाषित गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार “लैङ्गिकताले महिला र पुरुषहरुको सामाजिक बनावटका विशेषताहरुलाई दर्शाउँछ, जस्तै मापदण्ड, भूमिका र सम्बन्ध”। यौनलाई जनेन्द्रिय/यौन अंगहरूमा आधारित पुरुष र महिला बीचको जैविक भिन्नताहरूको रूपमा परिभाषित गरिन्छ। यसलाई सामान्यतया पुरुष वा महिलाको रूपमा वर्गीकरण गरिन्छ।

लैङ्गिक भूमिका समाजअनुसार फरक फरक हुन्छ। केही समाजहरूमा यी भूमिकाहरू बढी कठोर हुन्छन्। कहिलेकाँही व्यक्तिको आनुवंशिक रूपमा तोकिएको यौन तिनीहरूको लैङ्गिक पहिचानअनुसार हुँदैन। त्यस्ता व्यक्तिहरूले आफूलाई परायौनिक (ट्रान्सजेंडर) भनेर चिनाउन सक्छन्। तिनीहरू यौनिक अल्पसंख्यक हुन्।

त्यसैगरी, अन्तरयौनिक (इन्टरसेक्स) यस्ता व्यक्ति हुन जसको जन्मने बेलामै महिला वा पुरूष भनेर यौन (वा लिंग) छुट्याउन सकिँदैन र यस्तो व्यक्तिमा महिला र पुरुष दुबैको जैविक क्रोमोजोम हुन्छ। उदाहरण को लागी, एक व्यक्ति बाहिरबाट महिला जस्तो देखिने जन्मेको हुन सक्छ, तर भित्र अधिकतर पुरूष गुण हुन सक्छ। यस्तो व्यक्तिमा XXY वा XYY क्रोमोजोम भएको पाइन्छ। उदाहरणका लागि मानिस जन्मदाखेरि पुरुष र महिला दुबैको जननेन्द्रिय अर्थात लिङ्ग, अण्डकोष, योनि र पाठेघर सहित जन्मेको हुन्छ। यस्ता व्यक्तिमा जन्मदा नै यौन अङ्गको हिसाबले सामाजिक अपेक्षाअनुरूप बालक वा बालिका छुट्टिदैन।

समाजमा लैङ्गिकताको निर्माण

फेमिनिज्म र समाजशास्त्रमा एउटा सिद्धान्त छ “लैङ्गिकताको सामाजिक बनोट”, जसले समाजमा लैङ्गिकताको निर्माण बारे ब्याख्या गर्छ। यसका अनुसार लैङ्गिक भूमिकाहरु समाज र संस्कृतिद्वारा निर्माण गरिन्छन्, र यी भूमिकाहरु निश्चित यौनका मानिसका लागि सहि व्यवहारका रुपमा सिफारिस गरिन्छन्।

धेरैजसो परिवार तथा समाजबाट नै यौन तथा लैंगिकता बारेको  सिकाइ हुने गर्दछ। तथापि विद्यालय, शिक्षक, साथीसंगी, संचार माध्यम आदिबाट पनि यौनिकता तथा लैङ्गिकता बारे सिक्न सकिन्छ। यौनिकता तथा लैंगिकता बारेमा ज्ञान लिने प्रमुख स्रोत परिवार हो। पारिवारिक वातावरण तथा आफु बसेको समाज र देशको वातावरण पनि लैङ्गिक परिचय वा भूमिका सिक्ने माध्यमहरु हुन्।  परिवारमा महिला तथा पुरुषलाई जे जस्तो व्यवहार गरिन्छ त्यही नै बालबालिकाले सिक्ने गर्दछन्।

नेपाली समाजमा केटा मान्छेले रुन नहुने, महिलाले ठूलो स्वरमा बोल्न नहुने, घर भित्रको काम महिलाले गर्नुपर्ने, पुरुष ले मात्र निर्णय लिनुपर्ने जस्ता लैङ्गिक व्यवहारहरुले बालबालिकाको मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ। पछि गएर त्यही नै परम्परा, नियम र व्यवहारको रुपमा विकसित हुन पुग्छ। त्यसैगरी बाल्यावस्था र किशोरावस्थामा अनौपचारिक कुराकानी र हाँसी मजाक गर्दागर्दै कतिपय यौनजन्य र लैङ्गिक विषयवस्तुहरू साथीसंगीबाट पनि सिक्न सकिन्छ।

 

लैङ्गिकताले महिला, पुरुष, केटी र केटाहरूको विशेषताहरू बुझाउँदछ जुन सामाजिक रूपमा निर्माण भएको हुन्छ। समाजले एक यौनका लागि खास सामाजिक मान्यता, दृष्टिकोण र गतिविधिहरू उपयुक्त ठानेको हुन्छ। एक व्यक्तिले गर्ने क्रियाकलाप र के महसुस गर्छ भन्नेबाट पनि लैङ्गिकता निर्धारण गरिन्छ। सामाजिक बनोटको रूपमा लैङ्गिकता समाज समाजमा भिन्न हुन्छ र समयको साथ परिवर्तन हुने गर्दछ। लैङ्गिकता यौनसँग सम्बन्धित भएता पनि फरक छ, जसले महिला, पुरुष र अन्तरयौनिक व्यक्तिहरूको क्रोमोजोम, हार्मोन र प्रजनन अंगहरू जस्ता विभिन्न जैविक र शारीरिक विशेषताहरूलाई जनाउँछ।

लैङ्गिक असमानताको जड ‘लैङ्गिकता

विशेष रूपमा, लैङ्गिकताको सामाजिक बनोटले सामाजिक वातावरणमा प्राप्त लैङ्गिक भूमिकाको स्तरलाई निर्दिष्ट गर्दछ जसले अप्रत्यक्ष र प्रत्यक्ष रूपमा व्यक्तिको वर्गीकरण गर्दछ र त्यसैले सामाजिक आचरणहरूलाई उत्प्रेरित गर्दछ। यौनजस्तो यो प्रकृतिप्रदत्त गुण वा व्यवस्था होइन। यो त मानव समाज-निर्मित कुरा हो। पहिला पुरूष र महिलामात्र देख्ने समाजमा अहिले लैङ्गिकता केवल पुरुष वा महिलामा मात्र सीमित छैन्। त्यस्ता व्यक्ति पनि छन् जो आफू जन्मदा लिएर आएको यौनभन्दा फरक रूपमा प्रस्तुत हुन्छन् जसलाई लैङ्गिक (यौनिक) अल्पसंख्यक भनिन्छ।

लैङ्गिकता यौनभन्दा निम्न कुराहरुले फरक छ:

यौन लैङ्गिकता
यौनले पुरुष र महिलाबीच जैविक र शारीरिक भिन्नतालाई जनाउँछ लैङ्गिकताले पुरुष र महिलाबीचको सामाजिक र सांस्कृतिक भिन्नतालाई जनाउँछ
यौनको निम्नलिखित प्रकारहरू छन्: पुरुष, महिला र अन्तरयौनिक लैङ्गिकताको दुई मुख्य प्रकारहरू छन्: “पुलिङ्ग” वा “स्त्रीलिङ्ग” । हिजोआज, लैङ्गिकताको बारेमा कुरा गर्दा इन्ड्रोगाइनस पनि महत्त्वपूर्ण छ
समय र संस्कृति जुनसुकै भए पनि यौन उस्तै रहन्छ लैङ्गिकताको भूमिका, अपेक्षाहरू समय र संस्कृतिमा फरक हुन सक्छ
यौन भनेको प्रजनन आवश्यकताद्वारा सिर्जना गरिएका जैविक रूपहरू हुन्। लैङ्गिक फरकहरू सामाजिक मापदण्डद्वारा बनाईएका हुन्।

 

लैङ्गिक भूमिकालाई मुख्यतया सामाजिक र सांस्कृतिक मुल्य-मान्यता, रिति-परम्परा, तथा धार्मिक विश्वासले प्रभावित गर्दछन्। यसलाई व्यक्ति, समुदाय, धर्म र सामाजको स्वरुप तथा चेतनाको स्तरले  पनि प्रभाव पार्दछ। लैङ्गिक भूमिकाहरु सांस्कृतिक र कहिलेकाँही व्यक्तिगत हुन्छन्। समाजले पुरुष र महिलाले हिड्ने, बोल्ने, लुगा लगाउने र कुराकानी गर्ने र समाजका सदस्यहरूमा अन्तरक्रिया कसरी गर्ने भनि निर्धारण गर्दछ। निरन्तर यस प्रकारको लैङ्गिक भूमिकाहरू अभ्यास गर्दै जाँदा पछि गएर लैङ्गिक असमानता उत्पन्न हुने गर्दछ। समयमै शिक्षा मार्फत यस्ता विषयमा मानिसलाई जागरूक गराउनु पर्दछ र लैङ्गिक भेदभाव र हिंसाको जन्मलाई रोक्नु पर्दछ।

निश्कर्ष

लैङ्गिकताको जन्म समाजले गर्दछ। यो प्रकृतिप्रदत्त व्यवस्था होइन। संकीर्ण समाजमा असमान लैङ्गिक भूमिकाहरु उत्पन्न हुन्छन् भने खुला र शिक्षित समाजमा लैङ्गिक भूमिकाहरु सन्तुलित हुन्छन्। हाम्रो समाजमा रहेका विभिन्न प्रकारका लैङ्गिकतालाई हामीले सँधै आदर गर्नुपर्दछ तर लैङ्गिक भेदभाव र हिंसालाई लैङ्गिकताकै कारण निरन्तरता दिनु कदापि हुन्न। लैङ्गिक समानता एक विश्व व्यापी आवश्यकता हो। त्यसैले, नेपालमा पनि महिला, पुरूष लगायत सबै प्रकारका यौनिक र लैङ्गिक अल्पसंख्यकहरुलाई समेत सम्मानपूर्वक व्यवहार गर्नुपर्दछ भन्ने शिक्षा सबै बालबालिका र किशोरकिशोरीलाई जतिसक्दो छिटो उमेरदेखि दिनु पर्दछ।

लैङ्गिकता मानव सामाजमा निर्माण हुन्छ र यो प्रकृति-प्रदत्त कुरा नभएकोले यसलाई नै सदैव अंगिकार गर्नु हुन्न किनभने यसले लैङ्गिक भूमिकालाई परिभाषित गरिदिएर लैङ्गिक असमानतातर्फ समाजलाई अग्रसर गराउन सक्छ। विशेषत बालबालिका र किशोरकिशोरीले परिवार र समाजमा देख्ने विभेदकारी लैङ्गिक भूमिकाहरूले गर्दा यसलाई निरन्तर अगाडि बढाउन पुग्छन्। यसलाई सुक्ष्म र समालोचनात्मक तरिकाले विश्लेषण गर्न लगाई लैङ्गिक समानतातर्फ निर्देशित गर्नु आवश्यक छ।

तपाईको बिचार