राम्रो र नराम्रो स्पर्शको पहिचानबाट बालबालिकालाई यौनिक शिक्षाको शुरुवात

राम्रो र नराम्रो स्पर्शको पहिचानबाट बालबालिकालाई यौनिक शिक्षाको शुरुवात

1197

धेरै अभिभावक र शिक्षकहरूले बालबालिकालाई यौन शिक्षा आवश्यक छैन भन्ने सोंच राख्नु हुन्छ । तर बृहत् यौनिकता शिक्षाको अन्तराष्ट्रिय प्राविधिक निर्देशिकाले पाँच वर्षदेखि नै यौनिकता शिक्षा दिनु पर्दछ भनेर भनेको छ । हो, यौनिकता शिक्षा उमेरगत चाहीं हुन्छ । अहिले धेरै बालबालिकाहरू विभिन्न प्रकारका यौनहिंसामा परिरहेका घटना सार्वजनिक भईरहँदा अभिभावकहरू आफ्ना सन्तानलाई कसरी सुरक्षित राख्ने भनेर चिन्तित छन् ।

बालबालिकालाई लोभलालचमा पारेर, डर त्रास देखाएर, वा बल प्रयोग गरेर यौनिकतामाथि अधिकार जमाउनु, यौनिकतामा नकारात्मक असर पर्ने गरी कुनै पनि कार्य गर्नु वा यौनिक कार्यमा संलग्न गराउनु यौनहिंसा हो । यस्तो कार्यमा सहमति हुने वा नहुने कुरा हुँदैन । यौनहिंसा जो कोहीबाट पनि हुनसक्दछ । आफन्त, छिमेकी, परिचित वा अपरिचित व्यक्तिबाट समेत यस्तो हिंसा हुन सक्दछ । यो महिला वा पुरुष जसले पनि गर्नसक्दछ तथापि पितृसत्तात्मक समाज भएकाले धेरैजसो यौनजन्य हिंसा महिलामाथि पुरूषद्वारा नै हुने गरेको पाइन्छ । बालबालिकाको सन्दर्भमा उनीहरू कोमल र सोझा हुने भएकाले बालक र बालिका दुबै नै विभिन्न प्रकारका यौनजन्य हिंसामा पर्न सक्ने सम्भावना हुने गर्दछ ।

यौन र्व्यवहार सहित राम्रो नराम्रो स्पर्शको पहिचान

बालबालिकालाई यौनिकता शिक्षाअन्तर्गत यौन दुर्व्यवहारको परिचय दिनु पर्दछ । यौन दुर्व्यवहार वा दुराचार एक यौन आक्रमण वा यौन उत्पीडन हो भन्ने कुरा बुझाउनु जरूरी छ । यौन दुर्व्यवहार मुख्यतया कुनै व्यक्ति विरुद्ध उसको सहमतिबिना हुने गर्दछ । यौन दुर्व्यवहार घर, विद्यालय, कार्यस्थल वा सार्वजनिक स्थानमा पनि हुन सक्छ । बालक वा बालिका जो कोही पनि यसको शिकार हुन सक्छन् । यौन दुर्व्यवहारका केही उदाहरण वा सङ्केतहरू पहिचान गराउनु पर्दछ, जस्तै:

१. मौखिक अपमान गर्नु (आपत्तिजनक शब्दहरू प्रयोग गरेर)

२. यौन दुर्व्यवहारका शारीरिक आचरण गर्नु (स्पर्श गर्नु, चिमोट्नु, सुमसुम्याउनु, समात्नु, चुम्बन गर्नु, आदि)

३. चित्र वा वस्तुहरू देखाएर यौनिक इशाराहरू गर्नु

४.दबाव

५.अस्वीकृत गर्दा पनि बारम्बार आमने-सामने हुनु, टेलिफोन वा ईमेल सन्देश वा फोन गरिराख्नु

बालबालिकाको सन्दर्भमा यौन दुर्व्यवहारको आरम्भ स्पर्शको प्रकार (राम्रो स्पर्श वा नराम्रो स्पर्श)बाट पहिचान गर्न सकिन्छ ।

बालबालिकालाई निम्न कथापढ्न लगाउनुहोस्

सीता १० बर्षकी थिइन् । उनी आफ्ना बुबा, आमा र कान्छी बहिनी कोपिलासँग बस्थिन । सीता र कोपिला उनीहरूको घर नजिकको खेल मैदानमा खेल्थे । एउटा १६ बर्षको छिमेकी केटा थियो । त्यो केटा सीता र कोपिलासँग खेल्थ्यो । खेल्दै गर्दा त्यो केटाले गलत तरिकाले सीताको छाती र कम्मरमा छुन्थ्यो । त्यसले सीतासँग अर्को खेलमैदानमा गएर खेल्न पनि भन्थ्यो तर उनीहरू मान्थेनन् । जब त्यो केटोले मौका पाउँथ्यो, उसले सीतालाई नराम्रोसँग छुन्थ्यो । सीता अप्ठ्यारो महसुस गर्थिन् तर उसलाई केही भन्न सकेकी थिइनन् । उनी त्यो केटासँग डराउँथिन् । त्यसैले सीता र कोपिलाले बाहिर खेल्न नै बन्द गरे । सीताले त्यो केटोले उनलाई किन छुन्थ्यो भन्ने कुरा बुझ्न सकेकी थिइनन् र यसबारे कोसँग कुरा गर्नुपर्छ भन्ने नै बुझेकी थिइनन् ।

एक दिन स्कूलमा, सीताको शिक्षकले राम्रो र नराम्रो स्पर्शको बारेमा सिकाउनुभयो । उहाँले भन्नुभयो, “त्यो स्पर्श जुन सहज छ र तपाइँको निजी भागहरूमा छोएको होइन भने राम्रो स्पर्श हो । जब कसैले तपाइँको निजी अङ्ग वा शरीरको कुनै पनि अङ्गलाई छुन्छ र तपाइँलाई अप्ठ्यारो महसुस हुन्छ भने त्यो खराब स्पर्श हो । तपाइँले खराब स्पर्शलाई हुन्न (नाइँ) भन्नुपर्छ । यदि त्यो व्यक्ति त्यतिकैमा रोकिदैंन भने, तपाइँले आफ्ना बाबुआमा, शिक्षक वा कुनै विश्वासिलो व्यस्कलाई सूचित गर्नु पर्छ।

सीताले त्यसपछि मात्र त्यो केटोले उनलाई के गर्दै थियो भनेर थाहा पाइन् । उनले आफ्नी आमालाई त्यो केटाको व्यवहारको बारेमा बताइन् । उनकी आमाले त्यसलाई गाली गर्नुभयो र कुनै पनि केटीलाई अनावश्यक रूपमा नछुन भन्नुभयो ।

राम्रो स्पर्श के हो ?

राम्रो स्पर्श भनेको यस्तो किसिमको छुवाई हो जहाँ व्यक्तिहरूले एक अर्काको स्याहार गर्न र एक अर्कालाई मद्दत गर्न (उदाहरणका लागि, अँगाले हाल्ने, हात समात्ने, बच्चाको डायपर परिवर्तन गर्ने) प्रयोग गर्दछन् । यसलाई “सुरक्षित छुवाई” पनि भनिन्छ । यस किसिमको छुवाइले हामीलाई राम्रो भावनाहरू प्रदान गर्दछ ।

नराम्रो स्पर्श के हो ?

नराम्रो स्पर्श हामीलाई मन नपर्ने छुवाईको प्रकार हो । यो एक प्रकारको स्पर्श हो जसले हामीलाई डर वा कुनै गोप्य स्पर्शको अनुभुति गराउँदछ । यसलाई अनुपयुक्त वा असुरक्षित स्पर्श पनि भनिन्छ । यदि कसैको स्पर्शले हामीलाई असहज महसुस गराउँदछ भने हामीले तुरुन्तै नाँई भन्न सक्नुहुन्छ । खराब अवस्थामा, हामीले दौडेर, हिर्काएर, लात हानेर, वा कराएर पनि यसलाई रोक्न सक्छौं । नराम्रो स्पर्शका केही उदाहरणहरू निम्न छन्:

१. गुप्ताङ्गबारे अनावश्यक चासो राख्नु

२. एकटकले दौँतरी वा भाइबहिनीको गुप्ताङ्ग हेर्नु वा छुनु

३. साथीहरूलाई गुप्ताङ्ग देखाउनु वा यौन व्यवहार प्रकट गर्नु

४. कसैको धेरै नजिक उभिनु वा बस्नु

५. साथीहरू वा वयस्कहरूको नाङ्गो तस्बिर लिने प्रयास गर्नु

बालबालिकालाई “नाइँभन्नसिकाउनुपर्दछ

साना बालबालिकाले गलत स्पर्श र राम्रो स्पर्श के हो, बुझ्दैनन् । उनीहरूले कुनै स्पर्शले नराम्रो महसुस त गर्छन् तर यसका बिरूद्ध केही भन्न सक्दैनन् । यो स्पर्श बारेको अज्ञानताको कारणले गर्दा हो । त्यसैले यौनिकता शिक्षाअन्तर्गत हाम्रा यौनिक र गोप्य अंगको पहिचान गराई ती अंगमा कसले छुने वा नछुने अधिकार छ भन्ने कुरा अभिभावकले नै बताउनु पर्दछ ।

बालबालिकालाई बुझाउनु पर्ने मुख्य कुरा भनेको आत्म सुरक्षा हो । हामी सबैले आफ्नो व्यक्तिगत सुरक्षा कायम गर्न सावधान हुनुपर्छ । हाम्रो शरीरको सुरक्षा हाम्रो अधिकार हो । कहिलेकाँही हाम्रो समुदायमा केही नराम्रा व्यक्तिले नचाहिने आचरणहरू देखाउँछन् । तिनीहरूले हामीलाई अनावश्यक रूपमा हाम्रो शरीरमा छुन्छन् । कहिलेकाँही उनीहरूले हामीलाई चुम्बन गर्न पनि खोज्छन् । कहिलेकाँही उनीहरूले हाम्रो शरीरका निजी अङ्गहरूमा हात हाल्छन् । यी सबै खराब स्पर्शहरू हुन् ।

कोही ज्ञात वा अज्ञात व्यक्तिले हाम्रो निजी भागहरू छुने प्रयास गर्दछन् भने हामीले नाइँ भन्नु पर्छ। तिनीहरूले लामो समयसम्म अरू भागहरूमा छुन्छन् भने पनि हामीले विरोध गर्नुपर्दछ । हामीले यी सबै व्यवहारहरूबारे आफ्ना बाबुआमा समक्ष गुनासो गर्नुपर्छ । हामी हाम्रा शिक्षकहरूलाई पनि त्यस्तो व्यवहारबारे गुनासो गर्न सक्दछौँ । हामीले कहिल्यै पनि नराम्रो स्पर्शमा नाइँ भन्न डराउँनु हुँदैन । हामीले कसैले खराब स्पर्श गरेमा सँधै ठूला मानिसको मद्दत लिनुपर्दछ ।

तसर्थ, यौनिकता शिक्षामा यस्ता सुरक्षात्मक जानकारीहरू समावेश हुने गरेकाले बालबालिकालाई उमेरअनुसारको यौनिकता शिक्षा दिन हिच्किचाउनु हुँदैन । बालबालिकालाई “नाइँ” भन्ने जीवनोपयोगी सीपको सानैदेखि अभ्यास गराउने हो भने हरेक प्रकारका यौनजन्य हिंसा र दुर्व्यवहारबाट सुरक्षित हुन सक्दछन् ।

तपाईको बिचार

सम्बन्धित खबर