एनपीएल २०२५ पहिलो साता : नयाँ स्टार खेलाडीको चमक, ब्याटिङ र बलिङमा कसको दबदबा ?

एनपीएल २०२५ पहिलो साता : नयाँ स्टार खेलाडीको चमक, ब्याटिङ र बलिङमा कसको दबदबा ?

  • सौगात२०८२ मंसिर ९ सोमबार ०७:३७:५९
607

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो सिजन सुरु भएसँगै नेपाली क्रिकेटले नयाँ रोमाञ्चक अध्याय पाएको छ। यसपटक सटचल्लिसभन्दा बढी विदेशी स्टार खेलाडी मैदानमा छन्। विदेशी अनुभव र नेपाली युवा जोशको मिश्रणले लिगलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा बनाएको छ। मैदानमा विदेशी र घरेलु खेलाडीहरूको प्रतिस्पर्धाले खेलहरू तिख्खर, रोचक र दर्शकका लागि मनोरञ्जनपूर्ण बनेका छन्।

कर्णाली याक्सका मार्क व्हाटले बनाएको शतक पहिलो साताको सबैभन्दा चर्चित क्षण बनेको छ। उनको इनिङले कर्णालीलाई नयाँ उचाइमा पुर्‍यायो र लिगको प्रारम्भमै सबैको ध्यान खिच्यो। साविक विजेता जनकपुर बोल्ट्स पहिलो खेलमै दबाबमा देखिए। काठमाण्डौ गोर्खाजले उनीहरूलाई पहिलो झट्का दियो। यस खेलमा गोर्खाजले आफ्नो बलियो उपस्थितिको संकेत दियो भने बोल्ट्सले तयारीको कमी देखायो।

कर्णाली र चितवनको भिडन्तमा रबि बोपाराको प्रदर्शन निर्णायक बन्यो। १६७ रनको लक्ष्य पछ्याउँदै चितवन राइनर्सले खेलमा दबाब पाएको बेला बोपाराले ३५ बलमा ५२ रन बनाएर खेलको दिशा पल्टाए। तीन चौका र तीन छक्का प्रहार गर्दै उनको इनिङले चितवनलाई उपाधि दाबेदारको सूचीमा मजबुत बनाएको छ।

बिराटनगर किंग्सको प्रदर्शन पहिलो खेलमै अत्यन्तै प्रभावशाली रह्यो। मार्टिन गप्टिलको अनुभव र लोकेश बमको आक्रमकता मिलेर टोलीले २२१ रनको विशाल योगफल बनाए। यस इनिङले पोखरा एभेन्जर्सलाई पूर्ण रूपमा धराशायी बनायो। गप्टिल र बमले अर्धशतक प्रहार गर्दै टोलीलाई आत्मविश्वासका साथ खेल जित्न सक्षम बनाए।

सुदूरपश्चिम रोयल्सको खेलमा दर्शकको क्रेज र हरमित सिंहको जोश मुख्य शक्ति बनेको छ। रोयल्सको खेल हुने दिन टिकट पाउन कठिन छ, दर्शकको उत्साहले खेलाडीलाई अतिरिक्त ऊर्जा प्रदान गरेको छ। लुम्बिनी लायन्सले अघिल्लो सिजन कमजोर प्रदर्शनपछि यसपटक दमदार कमब्याक गरेको छ। चितवनसँगको खेलमा अठार दशमलब तीन ओभरमै हार भोग्दै पनि रोहित पौडेल र गुलबदीन नाइकको ६० रनको साझेदारीले टोलीमा आत्मविश्वास र उत्साह थपेको छ।

पोखरा एभेन्जर्स लगातार दुई हार भोग्दै आएका छन्। तर कुशल भुर्तेलको दमदार प्रदर्शनले टोलीमा अझै आशा बाँचेको छ। उनले ब्याटिङमा निरन्तर राम्रो प्रदर्शन गर्दै खेल जित्ने सम्भावना कायम राखेका छन्।

ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन्। विदेशी खेलाडीहरूको आक्रमकता र अनुभवले टोलीलाई दबदबा दिएको छ। तर बलिङमा नेपाली बलरहरूको चमक स्पष्ट छ। काठमाडौँ गोर्खाजका कप्तान करण केसी हालसम्म सबैभन्दा बढी विकेट लिएका छन्। नेपाली बलिङले विदेशी स्टारहरूलाई नियन्त्रणमा राख्न सफल भएको छ।

अंक तालिकामा बिराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स चार अंकसहित शीर्ष स्थानमा छन्। कर्णाली याक्स तेस्रो, चितवन राइनर्स चौथो, काठमाण्डौ गोर्खाज पाँचौं, लुम्बिनी लायन्स छैटौं, जनकपुर बोल्ट्स सातौं र पोखरा एभेन्जर्स शून्य अंकसहित पछाडि छन्। यसले प्लेअफ स्थानका लागि कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ।

नेपाल प्रिमियर लिगको यो सिजन केवल लिग मात्र नभई नेपालको क्रिकेट ब्रान्ड विश्व सामु उभिँदै गएको स्पष्ट उदाहरण पनि हो। भारत, पाकिस्तान र बंगलादेशका क्रिकेट प्रेमीहरू नेपाली लिगका खेलाडी र प्रदर्शनलाई लिएर चर्चा गरिरहेका छन्। मार्क व्हाटको शतक, रबि बोपारा, मार्टिन गप्टिल, लोकेश बम, हरमित सिंह, रोहित पौडेल, कुशल भुर्तेल र कुशल मल्लका प्रदर्शनले एनपीएल २०२५ लाई अविस्मरणीय बनाएका छन्।

एनपीएल २०२५ नेपाली क्रिकेट इतिहासमा नयाँ सुनौलो अध्याय बनेको छ र यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय नक्सामा बलियो र स्थापित बनाएको छ ।

तपाईको बिचार