काठमाडौं । लिग २ अन्तर्गतको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा यूएईविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।
ललित राजवंशीको पाँच विकेट प्रेरित आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा यूएईलाई २२.५ ओभरमा अलआउट गर्दै नेपालले एकदिवसीय मान्यता सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई निरिह पार्दै नेपालले १७७ रनको शानदार जित दर्ता गर्यो । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।
जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।