काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी धार र सच्चा वामपन्थीको एकताका निम्ति आफूहरुले नेतृत्व लिन तयार रहेको बताउनुभयो । केही दिन भित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने उल्लेख गर्नुभयो ।
“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ ।”
प्रधानमन्त्री दाहालले भन्नुभयो, “माओवादी धारका कम्युनिष्ट घटकबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलाप आयोगका माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । त्यसपछि केही दिनमा समाजवादी मोर्चा बन्छ ।”
संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बङ्गाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।”
समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने उहाँको भनाइ छ । दाहालले नेता कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताउनुभयो ।