किशोरावस्था यौवनको प्रारम्भको साथ पहिचान निर्माणको महत्त्वपूर्ण समय हो । यसले शारीरिक, बौद्धिक, भावनात्मक, हार्मोनल र सामाजिक-अन्तरवैयक्तिक परिवर्तनहरू ल्याउँछ । किशोरावस्थाका परिवर्तनहरू केही भिन्न हुन सक्छन् तर मुख्य शारीरिक परिवर्तनहरू किशोरकिशोरीबीच समान हुन्छन् । किशोरावस्था भनेको यस्तो अवस्था हो जहाँ केटाहरू र केटीहरू नयाँ चीजहरू सिक्न र अभ्यास गर्न उत्सुक हुन्छन् । यो जिज्ञासाले उनीहरूलाई धेरै खालका जोखिमपूर्ण व्यवहारमा संलग्न गराउँदछ । तिनीहरूको शारीरिक परिवर्तनले केही मुद्दा वा समस्याहरू पनि ल्याउँछन् । राष्ट्रिय तथ्याङ्कले पनि नेपालमा किशोरकिशोरीका विभिन्न स्वास्थ्य र सामाजिक अवस्थाहरू चिन्ताजनक रहेको देखाएको छ । संक्रमणकालिन समयका कारण किशोरकिशोरीहरूलाई प्रत्येक चरणमा मद्दत र मार्गदर्शन चाहिन्छ भने परिवर्तनलाई सकारात्मक दिशातर्फ डोर्याउन र राष्ट्रिय तथ्याङ्कलाई सुधार गर्न यौनिकता शिक्षाको सान्दर्भिकता देखिन्छ ।
किशोरावस्थाका परिवर्तनलाई सम्बोधन गर्न यौनिकता शिक्षा
किशोरावस्था ल्याटिन शब्द "adolescere" बाट आएको हो, जसको अर्थ "हुर्कनु (to grow up)" हो। किशोरावस्था शारीरिक र मनोवैज्ञानिक मानव विकासको संक्रमणकालीन अवस्था हो जुन सामान्यतया यौवनावस्था र वयस्क अवस्थाबीचमा देखा पर्दछ। यो एक अवधि हो जतिबेला व्यक्ति शारीरिक र मनोवैज्ञानिक रूपमा परिपक्व हुन्छ र व्यक्तिगत पहिचान प्राप्त गर्दछ। यस चरणमा, किशोरकिशोरी सामान्यतया उनीहरूको शरीर, आकृति र शारीरिक क्षमताहरूमा चासो राख्छन्।
विश्व स्वास्थ्य संगठनले १०-१९ वर्ष उमेरका व्यक्तीलाई किशोरकिशोरी भनि परिभाषित गर्दछ। यो परिपक्व हुनुको प्राकृतिक प्रक्रिया हो। सामान्यतया, उमेर समूहमा आधारित किशोरावस्थाका तीन चरणहरू छन् जतिबेला विभिन्न परिवर्तनहरू देखा पर्दछन् :
१०-१४ वर्ष - प्रारम्भिक किशोरावस्था: किशोरावस्थाको प्रारम्भिक चरणमा हुने शारीरिक र मानसिक परिवर्तनबाट देखा पर्ने संवेगात्मक र व्यवहारिक आनीबानीहरु बालापनसँग बढी मिल्दोजुल्दो हुन्छ । धेरै किशोरकिशोरीहरुमा उनीहरुको आफ्नो छुट्टै परिचय\पहिचान स्थापित गराउने चाहना विकसित हुन्छ जसलाई विभिन्न आन्तरिक तथा वाह्य तत्वहरुले प्रभाव पार्दछन् । यस अवस्थामा शारीरिक परिवर्तनका विभिन्न लक्षणहरु देखा पर्दछन्, जस्तैः काखी मुनी र गुप्ताङ्ग वरिपरि रौँ आउनु, केटीहरुको स्तन बढ्नुका साथै महिनावारी शुरु हुन्छ भने केटाहरुमा लिङ्ग र अण्डकोषको बृद्धि हुन्छ, दाह्री जुङ्गाको रेखी देखापर्दछ र स्वर धोद्रो हुन्छ । किशोरावस्थाको शुरुको अवस्थामा उनीहरु आफ्नो यौनिकता बारे जान्न र यौनसँग सम्बन्धित विभिन्न परीक्षण गर्न उत्सुक हुन सक्छन् । यस उमेरमै समाजमा पछि आफ्नो अस्तित्व देखाउने विभिन्न क्रियाकलापहरु गर्ने गर्दछन् । उनीहरुले विभिन्न पदार्थहरु जस्तैः रक्सी, चुरोट तथा लागुपदार्थको प्रयोग र परीक्षण पनि गर्न सक्दछन् ।·
१५-१६ वर्ष - मध्य किशोरावस्था: यस अवस्थामा किशोरकिशोरीले भावनाको विकास गर्ने र आदर्श पात्र छान्ने गर्दछन् । यस उमेर समूहमा साथीभाइ र उनीहरुको संगत महत्वपूर्ण हुने गर्दछ र किशोरकिशोरीमा उनीहरुको प्रभाव प्रवल रहन्छ । यस मध्ये किशोरावस्थामा विस्तारै यौनिक परिचयको विकास हुँदै जान्छ र विपरित लिङ्गीप्रति आकर्षित हुने गर्दछन् भने यस्तो आकर्षण नहुने व्यक्तिहरु भित्रभित्रै एक प्रकारको द्वन्द्वको अनुभूति गर्न थाल्दछन् ।·
१७-१९ वर्ष - उत्तर किशोरावस्था: कशोरावस्थाको यो चरणमा किशोरकिशोरीले वयस्क जस्तो व्यवहार गर्न थाल्दछन् तर उनीहरु अझै मानसिक, व्यवहारिक र संवेगात्मक रुपले परिपक्व भइसकेका हुँदैनन् । किशोरकिशोरीहरु यस उमेरमा स्वतन्त्र ढंगले निर्णय लिन सक्छन्, काममा खटिन सक्छन्, उनीहरुको यौनिक परिचय स्थापित हुन्छ साथै बिहे गर्न र घरजम गर्न पनि तैयार हुन सक्छन् ।
किशोरावस्थाको बीचमा हुने शारीरिक परिवर्तनहरू बुझ्न असफल भएकोले धेरैजसो किशोरीकिशोरीहरूले समस्याहरूको सामना गर्नुपर्दछ । उनीहरूलाई यी परिवर्तनहरू सामान्य र प्राकृतिक हुन् भन्ने अवधारणा आवश्यक हुन्छ । विशेषत: यौनिकतासंग सम्बन्धित समस्या नै यस अवस्थामा प्रमुख हुन्छन् जसका बारेमा अधिकांश किशोरकिशोरी समाधान खोज्न सक्षम हुँदैनन् ।
किशोरावस्थाबाट युवावस्थातर्फ परिवर्तन हुने क्रममा किशोरीकिशोरीहरूलाई अनुभवी वयस्क, आदर्श पात्र, परिवार तथा सामाजिक संरचनाले सहयोग गर्नुपर्दछ भने यो समयमा यौनिकता शिक्षा पनि अतिआवश्यक हुन्छ । यस्तो शिक्षा पाएको किशोरीकिशोरी आफू र अरु व्यक्तिप्रति सकारात्मक हुने गर्दछन् । यस्तो शिक्षाबाट किशोरीकिशोरीले यौन क्रियाकलापलाई सुरक्षित र मर्यादित बनाउन तथा आफ्नो यौनिक जिम्मेवारी पुरा गर्न सिक्दछन् ।
किशोरकिशोरीसम्बन्धी खराब तथ्याङ्कलाई सुधार गर्न यौनिकता शिक्षा
अहिले विश्वमा पहिलेभन्दा धेरै युवा जनसंख्या रहेको छ । विश्वभर ७.२ अरब जनतामध्ये ३ अर्ब भन्दा बढी २५ बर्षभन्दा कम उमेरका छन् र यो विश्व जनसंख्याको ४२% हुन्छ । यसमध्ये करिब १.२ अरब १० देखि १९ वर्षबीचका किशोरकिशोरीहरू छन् जो विश्व जनसंख्याको १६% हुन्छ (UNICEF, २०१९) ।
नेपालको जनगणना २०६८ (वि.सं.) अनुसार नेपालको कुल जनसंख्या (दुई करोड ६५ लाख) मध्ये ३४ प्रतिशत युवा किशोरीकिशोरीहरू छन् भने २४.१८ प्रतिशत १०-१९ वर्षका किशोरकिशोरी छन् । विश्वमा धेरै बालविवाह हने राष्ट्रहरूमध्ये नेपाल आठौं स्थानमा पर्दछ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार विवाहको औसत उमेर पुरुषको हकमा २१.७ वर्ष र महिलाको हकमा १७.९ वर्ष रहेको छ । यस अनुसार १७ प्रतिशत किशोरीहरू राज्यले तोकेको न्युनतम विवाह गर्ने उमेर (२७ वर्ष) भन्दा अगाडि नै गर्भवती तथा आमा बनिसकेको देखाउँछ ।
यसअघि नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ का अनुसार पनि नेपालमा ७ प्रतिशत केटी र ३ प्रतिशत केटाहरूले १५ वर्षभन्दा पहिले नै यौन सम्पर्क गरिसकेका हुन्छन् भने ४० प्रतिशत केटी र २७ प्रतिशत केटाहरूले १८ वर्षभन्दा पहिले नै यौन सम्पर्क गरिसकेका हुन्छन् । सन् २०११ मा नेपालमा १० प्रतिशत किशोरीहरूको विवाह १५ वर्ष भित्र र ५१ प्रतिशत किशोरीहरूको विवाह १८ वर्ष भित्रै हुने गरेको थियो ।
सन् २०१२ मा, विश्वमा एक करोड १६ लाख जनसंख्याले १५ देखि १९ वर्षभित्रको किशोरकिशोरीले बच्चा जन्माउने गर्दछन् (WHO, २०१२) भने नेपालमा झण्डै एक चौथाइले १८ वर्षभित्र र करिब आधीले २० वर्षको उमेरमा बच्चा जन्माउने गरेका छन् । यसरी हेर्दा वार्षिक अनुमानित ७० हजार किशोरीहरू गर्भवती हुने र बच्चा जन्माउने गर्दछन् नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार प्रति १००० मा ८१ जना किशोरीले बच्चा जन्माउने गर्दछन् तर यो संख्या २०१६ मा झन् बढेर प्रति १००० मा ८८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोरकिशोरी तथा विकास रणनीति २०७५ ले पनि १० देखि १९ वर्षमा नै आमा बन्ने किशोरीहरू १७ प्रतिशत रहेको उल्लेख गरेको छ । नेपालमा बालविवाह र कम उमेरमा नै बच्चा जन्माउने किशोरीको सङ्ख्या अझै पनि कम हुन नसकेको पुष्टि हुन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षण सन् २०१६ का अनुसार १५ देखि १९ वर्षका किशोरीहरूको उमेर अनुसारको प्रजनन् दर एक हजारमा ८८ जना देखिएको छ, जुन सन् २०११ को तथ्याङ्कमा एक हजारमा ८१ थियो ।
परिवार नियोजनको आपूर्ति तथा माग २४ प्रतिशत छ भने यो माग १५ देखि १९ वर्षका किशोरीहरूमा अझ बढेर ३५ प्रतिशत देखिएको छ जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ का अनुसार गर्भनिरोधक साधनहरूको उपयोग राष्ट्रिय औसत ४३ प्रतिशतको तुलनामा विवाहित किशोरकिशारीले अत्यन्त न्यून अर्थात १४.५ प्रतिशतले मात्र उपयोग गरेको देखिन्छ । त्यसैगरी नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ का अनुसार १५ देखि १९ वर्ष उमेर किशोरकिशोरीमध्ये १८.३ समूहका प्रतिशत किशोरीमा र २४.३ प्रतिशत किशोरमा एचआईभी सङ्क्रमणसम्बन्धी बृहत् ज्ञान भएको सरकारको भनाइ छ ।
नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइए पनि योजनाविना अर्थात अनिच्छित रूपमा गर्भवती हुनेको सङ्ख्या ठूलो भएको बुझिएको छ । १५ देखि १९ वर्षका किशोरीमध्ये ४०.९ प्रतिशतलाई मात्रै सुरक्षित गर्भपतन सेवा पाइने ठाउँबारे जानकारी भएको देखिन्छ सबै मातृ मृत्युदरमध्ये १३.१ प्रतिशत २० वर्षमुनिका किशोरी भएको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै, हाल नेपालमा ३१ हजार २० जना एचआईभी सङ्क्रमित रहेका छन् जसमध्ये ठूलो हिस्सा किशोरकिशोरीको रहेको छ ६४ लाख किशोरकिशोरीमध्ये लगभग ३०.४ प्रतिशत मदिरा (घरेलु रक्सी, कडा खालको रक्सी, बियर, वाइन, आदि) पिउने गरेका र किशोरकिशोरीको कुल जनसङ्ख्यामध्ये पाँच भागको एक भागले चुरोट र सुर्तीजन्य पदार्थको सेवनको कुलतमा फसेको पाइएको छ ।
शिक्षा क्षेत्रको फ्ल्यास १, २०७४ को प्रतिवेदन अनुसार नेपालमा १० देखि १६ वर्षसम्मका ३८.७ प्रतिशत किशोरकिशोरी त्यसमध्ये पनि ४०.१ प्रतिशत किशोरी र ३७.२ प्रतिशत किशोर औपचारिक शिक्षाको क्षेत्र वा विद्यालयबाहिर रहेको पाइएको छ । निम्न माध्यमिक तहमा भर्ना हुने उमेरका किशोरकिशोरीमध्ये जम्मा ८७.४ प्रतिशत ( किशोरी ८६.३ र किशोर ८८.६ प्रतिशत्) भर्ना भएको देखिन्छ उच्च माध्यमिक तहमा भर्ना हुनका लागि ४९.३ प्रतिशत किशोरकिशोरीमध्ये (किशोरी ४७५ प्रतिशत र किशोर ४९.३ प्रतिशत) मात्र माध्यमिक तह उत्तीर्ण भएको देखिन्छ यो तथ्याङ्कबाट बहुसङ्ख्यक किशोरकिशोरी विद्यालय शिक्षाबाट बञ्चित रहेको प्रष्ट हुन्छ ।
यी विभिन्न तथ्याङ्कले नेपालमा किशोरकिशोरीका विविध क्षेत्रमा अझै धेरै जनचेतनामूलक, शैक्षिक, स्वास्थ्य, र सामाजिक काम गर्नुपर्ने कुरा औंल्याएको छ । नेपालमा यौनिकताको विषयमा कुरा गर्न अझै पनि बर्जित छ । समाजिक सांस्कृतिक मूल्यमान्यता र धार्मिक आस्था र अभ्यासका कारणले गर्दा पनि मानिस यो विषय स्वीकार्न र छलफल गर्न अप्ठ्यारो मान्छन् । त्यसैले किशोरकिशोरीलाई पनि यौनिकतासम्बन्धी कुरा गर्न, सिक्न, र खोजी गर्न चूनौतीपुर्ण छ । आफूलाई जतिसुकै यौनका विषयमा सिक्न र जान्न इच्छा भए पनि सामाजिक मनोविज्ञानका कारण उनीहरू यससम्बन्धी सूचना र ज्ञान प्राप्त गर्न हिचकिचाउँछन् । यौनिकता शिक्षाको अभावमा यौनिकता सम्बन्धी भ्रम उत्पन्न हुन सक्छन् ।
किशोरावस्था परिपक्वता प्राप्त गर्ने उमेर हो । यो समय यौनजन्य कुराहरुमा किशोरकिशोरीहरूको चासो वृद्धि भएको हुन्छ । किशोरकिशोरीलाई यौनिकतासंग सम्बन्धित कुराहरु लुकाउन खोज्यो भने उनीहरुले अन्य माध्यमबाट भएपनि त्यसलाई सिक्न खोज्दछन् । अन्य माध्यमबाट प्राप्त गरेको यौनशिक्षा अवैधानिक, गलत, भ्रमपूर्ण र नकारात्मक हुन सक्दछन् । किशोरकिशोरीसंग सम्बन्धित माथि उल्लेखित खराब तथ्याङ्कलाई यौनिकता शिक्षा मात्रैले पनि धेरै हदसम्म सुधार गर्न सक्छ । त्यसैले नेपालमा किशोरकिशोरीलाई यौनिकता सम्बन्धी कुराहरू लुकाउनुभन्दा घरपरिवार र विद्यालयबाट उमेरअनुरूप यथार्थपरक यौनिकता शिक्षा प्रदान गर्नु पर्दछ ।