काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम (पूर्व) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३७६ जना चुनावी मैदानमा कायम भएका छन् ।
उपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
तपाईको बिचार