प्राकृतिक विपद्का लागि ११ अर्ब ८२ करोड बढीको वीमा दावी

प्राकृतिक विपद्का लागि ११ अर्ब ८२ करोड बढीको वीमा दावी

619

काठमाण्डौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९ सय ३० बराबरको वीमा दावी गरिएको छ । वीमा दावी गर्दै ३ हजार ४ सय १८ वटा निवेदन प्राप्त भएका छन् ।

नेपाल वीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख ९३ हजार ३ सय ८७ बराबरको दाबी भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दावी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दावीका आवेदन परेका छन् ।

दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा ३ सय ७७, हिमालयन एभरेष्ट २ सय ४३, नेकोमा २ सय १९, युनाइटेड अजोडमा ३ सय २३, सानिमा जिआइसीमा २ सय १७, आइजिआई प्रुडेन्सियलमा २ सय ९६ दावी परेका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय वीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार÷चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ७ दाबी निवेदन परेका छन् । कूल दावीमध्ये ९सय २ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

कूल एक हजार छ सय ५३ वटा सम्पत्ति वीमा दावी गरिएकामा ३ सय ९८ वटाको भुक्तानी भएको छ । ८ अर्ब ७५ करोड ८७ लाख ५१ हजार २ सय ३४ भएकामा ४६ करोड ७० लाख ९७ हजार ७ सय ८० मात्रै भुक्तानी भएको छ ।

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय ४ वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

अधिकांश ऊर्जा उत्पादक केन्द्रले वीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दावी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् ।

दावी भएकामध्ये ३८ वटाको ३ करोड ११ लाख २८ हजार पाँ५ सय ५५ मात्रै भुक्तानी भएको छ ।

मोटर वीमा निजीतर्फ ८ सय ८७ दावी परेकामा २ सय ८० को ६ करोड १६ लाख ९७ हजार ५ सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

मोटर वीमा सार्वजनिकतर्फ ३ सय ५० दावी हुँदा ९१ वटाको ४३ करोड २ हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ । पुशपन्छी वीमा ५१ दावी पर्दा २१ वटाको २४ लाख ९२ हजार ८ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए ।

त्यस्तै, सामुद्रिक वीमा २२ को दावी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दावी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दावी पर्दा ७ को भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा २सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा २ हजार ९ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० वटा वीमा दावी भएको छ ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि वीमाको पहुँच नहुँदा कम मात्रैले दावी गर्न सक्ने अवस्था रहेको जनाइएको छ ।

वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दावी पनि बढी परेको प्राधिकरणले जनाएको छ ।

तपाईको बिचार