फागुनमा काठमाडौँमा लाखौंको मानव सागर उतार्छौंः नेता बस्नेत

फागुनमा काठमाडौँमा लाखौंको मानव सागर उतार्छौंः नेता बस्नेत

731

काठमाडौँ, ५ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी फागुन महिनामा काठमाडौँमा १०औं लाखको मानव सागर उतार्ने घोषणा गर्नुभएको छ ।

मंसिर ७ गते राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा सरकार विरुद्ध गर्न गइरहेको बृहत विरोध कार्यक्रमको स्वयम् सेवक भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले देश र जनताको पक्षमा रहेर सडक आन्दोलनदेखी समृद्धिको अभियानमा जोडिएर काम गरिरहेको बताउनुभयो । जनताको मुद्धा नै एमालेको मुद्धा भएको उल्लेख गर्दै उहाँले मंसिर १४ गतेदेखी पुष्पलाम मध्यपहाडी लोकमार्ग यात्रा गरी समृद्धिको अभियानमा जनतालाई साथमा लिएर लैजाने बताउनुभयो । त्यो सँगै भुकम्पका कारण जाजरकोट तथा रुकुम पश्चिममा ठूलो जनधन तथा मानवीय क्षती भएको उल्लेख गर्दै उहाँले एमालेको पोलिटव्युरो सदस्य विनोद श्रेष्ठ तथा केन्दीय सदस्य किरण पौडेलको नेतृत्वमा स्वयम सेवक परिचालन गरिएको बताउनुभयो । उक्त टोलीले जनताको दुःख सुखमा साथ दिँदै अस्थायी संरचना निर्माण गरी वसोवासको व्यवस्थापन गरेरमात्र काठमाडौँ फर्कने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले जनताको पक्षमा रहेर सडक आन्दोलन देखी लिएर समृद्धिको आन्दोलनमा होमिएको छ । मंसिर १४ गतेदेखी मध्यपहाडी लोकमार्ग केन्द्रीत बैतडीको जुलाघाटदेखी पाँचथरको चिवा भञ्ज्याङसम्म समृद्धिका लागि संकल्प अभियान सञ्चालन गर्दैछ । त्यस्तै जाजरकोटमा भुकम्पका कारण जनतामा परेको दुःखलाई आफ्नै दुःखको रुपमा लिएर जनताको सारथी बनी अस्थायी संरचना निर्माणको कार्य विनोद श्रेष्ठ र किरण पौडेलेको नेतृत्वमा भइरहेको छ । यसैले अब एमाले जनताको साथमा रहेर वर्तमान सरकारको अराजकता, भ्रष्टाचार, अनियमितता, दलाली, तस्करी, महंगी, कुशासनलगातका विरुद्ध काठमाडौँ उपत्यकामा फागुन महिनामा १०औं लाखको उपस्थितीमा मानव सागर उतार्दै आन्दोलन गर्दैछौं । मंसिर ७ को युवा विद्यार्थीको आन्दोलन कास्टिङमात्र हो । अब सरकारको जनघाती कदमको विरुद्ध देशैभर आन्दोलनको आँधीवेरी एमालेले ल्याउँछ । जनताको हितमा काम गर्न जस्तोसुकै परिस्थितीको सामना गर्न तयार छ ।’

सरकारकै संरक्षणमा गणतन्त्र विरोधी तत्वहरु सल्बलाई रहेको उल्लेख गर्दै उहाँले व्यवस्था विरोधी तत्वहरुको नाम लिँदासमेत अशुभ हुने अवस्था बनेको बताउनुभयो । व्यवस्थाको विरुद्धमा मेडिकल व्यवसायी दुर्गा प्रसाई लाग्दा समेत सरकार मौन बसेको प्रति आक्रोस व्यक्त गर्दै नेता बस्नेतले सरकारले तत्काल प्रसाईलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनतामा अहिले जनजिविकाका मुद्धाहरु, जनतामा परेका शोषण, दमन र उत्पिडनमा मुद्धाहरु, सरकारले गरेका ज्यादतिहरु, समाजका सामान्तवादी नोकरशाहीहरुका विरुद्धमा नेपालका राजनीतिक दल र त्यसका भ्रातृ संगठनहरु बोलेनन् र त्यस्ता तत्वकाविरुद्धमा केही गतिविधि पनि गरेनन् भन्ने मनोविज्ञान पैदा भएको छ । त्यति मात्रै होइन विस्तारै दुर्गा प्रसाईँ जस्ता अपराधिक मनोवृत्तिका व्यक्तिहरु समेत ती जनताको मनोविज्ञानमा खेलेर ‘तिमीहरुका मुक्तिदाता हामी हौं’ भनेर भ्रम पैदा गर्ने हर्कतहरु हुन थाले । यस्तो अवस्थामा नेकपा (एमाले) जस्तो जिम्मेवारी पार्टी र त्यसका भ्रातृ संगठनले यो विषयमा पनि ध्यान केन्द्रित गर्नुपर्छ भनेर हामीले अहिले पहिलो चरणमा युवाहरु त्यस्ता प्रवृत्तिका विरुद्धमा बोल्छन्, खवरदारी गर्छन् र प्रतिकार पनि गर्छन् भन्ने सन्देश दिन युवा–विद्यार्थी विशेष कार्यक्रमको आयोजना गरेका हौँ । मंसिर ७ गतेको सभा जनताका मुद्धा, जनताका समस्या र जनताका समान विषयवस्तु राजनीतिक दलहरुकै मातहतमा हुनुपर्छ भन्ने सन्देश दिने प्रस्थानविन्दु पनि हो । पहिलो कुरा त हामीसँग भिड्ने भनेर दुर्गा प्रसाईँको आडमा स्याल हुँइयाँ गर्ने काम भएको छ । त्यो हल्ला मात्रै हो । हामीसँग भिड्ने उसँग कुनै तागत, क्षमता, हैसियत छँदैछैन । अहिले त प्रसाईँले नेपाललाई नेपाल राख्ने कि भारतमा विलय गराउँने कि ? भनेर आफ्नै हातमा भएको जस्तो बहुलापन देखाएर हिँडेको छ । यतिसम्म कि पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा आएर उनलाई नभएर अरु नै खोजेर राजा बनाउनेसम्मको बकम्फुसे कुरा गरेर प्रसाईँ कुदिरहेको छन् । मानौ कि एउटा पागलले सन्केको भरमा देश अन्त विलय गर्ने वा राजा राख्ने–नराख्नेसम्मको अधिकार पायो भन्ने जस्ता बहुला कुरा गरेर हिड्ने दुर्गा प्रसाईंका पक्षमा एउटा राजवादी हुँ भन्नेहरुको झुण्ड लागेको देखिन्छ ।’

 

तपाईको बिचार