काठमाडौँ, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको बताएका छन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको उल्लेख गरे । उनले भूगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए ।
“अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना छ,” मन्त्री किराँतीले भने, “हाम्रो भूगोल सानो छ । उत्तर–दक्षिणतर्फ हाम्रा ठूला देशहरू छन् । तर, संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनुपर्छ । साहित्य–संस्कृतिमा तपाईंहरूले योगदान गरिदिनुहोस्, अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।”
तपाईको बिचार